तपाईँ सुन्दै हुनुहुन्छः

बिपी स्मृति कप : नेपालद्वारा पाकिस्तानको टिम पराजित

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी ‘बिपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तर क्लब क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपालले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई पराजित गरेको छ । उसले ७ विकेटको जित निकाल्दै प्रतियोगितामा दोस्रो जित दर्ज गरेको हो ।

यहाँस्थित सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद गोहार १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे । जावेद गोहारका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमरान नाजिरले १२ र अली हुसेनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाए । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद गोहारका जेम खानले ३ विकेट लिए । खेलमा नेक्सस रुपन्देहीका शाहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट सङ्घको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरूको सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button