तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्की र स्विस राजदूत डा. मेउलीबिच  भेटवार्ता

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले बताउनुभयो ।

राजदूत बनेर आएपछि पहिलो पटक मुख्यमन्त्री कार्कीसँग उहाँले भेट गर्नुभएको हो । स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा अहिलेसम्म भएको प्रगतिका र आगामी सहकार्यका विषयमा छलफल भएको हो । 

उहाँहरुबीच कोशी प्रदेश सरकारले यो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिनुभयो । भेटवार्तामा स्विस राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य भइरहने बताउनुभयो । 

कोशी प्रदेशमा स्विस सरकारको सहयोगमा खानेपानी तथा सिचाई मन्त्रालय अन्तरगत ८ वटा पहाडी जिल्लामा साना सिचाई आयोजना, झोलुङ्गे पुलमा प्राविधिक सहयोग तथा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत सिप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरू सञ्चालनमा छन् । 

यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत सुशासनसँग सम्बन्धित पिएलजिएसपी परियोजना सञ्चालनमा रहेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत नै युवा उद्यमशीलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धन सम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button