तपाईँ सुन्दै हुनुहुन्छः

दुई अङ्कको आर्थिक वृद्धिदर भएमात्र आर्थिक समृद्धि हुन्छ : संयोजक डा. भट्टराई 

पोखरा । नेपाल समाजबादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा दुई अङ्कको आर्थिक वृद्धिदर दुई दशकसम्म निरन्तर नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ । पर्यटनको राजधानी पोखरामा सोमबार देखि सुरु भएको नेपाल समाजबादी पार्टीको विधान अधिवेशनमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । 

प्रतिव्यक्ति आम्दानी १० गुणा वृद्धि नभएसम्म गरिबीको अन्त्य नहुने उहाँको तर्क थियो । देश भित्रको पुँजी कसरी परिचालन गर्ने, भारत र चीनसँगको सम्बन्ध कस्तो कायम गर्ने भन्ने मार्ग चित्र समेत आफूहरूले तयार पारेको अध्यक्ष भट्टराईले दाबी गर्नुभयो । देश अब पुँजीवादी र समाजबादी भन्दा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारितको बाटो अबलम्बन गर्नु पर्ने उहाँको भनाई थियो । समृद्धि आफु अर्थमन्त्री हुँदा पहिलो पटक प्रयोग गरेको शब्द भएको अध्यक्ष भट्टराईको जिकिर थियो । 

वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिबद्धता, वैकल्पिक शक्तिको सङ्गठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरू, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका विषयमा छलफल हुने भएको नेपाल समाजबादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताउनु भयो ।

देशमा रहेको भ्रष्टाचार र अनियमिततालाई रोक्न र देशलाई सुशासनको बाटोमा लैजानको लागि बलियो शक्तिशाली संस्था गठन विना देशमा मौलाएको भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने उहाँले बताउनु भयो । 

आफूहरूको अन्य पार्टीहरू भन्दा फरक र विशिष्टको विधान हुने भएको अध्यक्ष डा. भट्टराईले दाबी गर्नु भयो । आफु अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेत भएकोले व्यक्तिगत कुनै स्वार्थ विना काम गरेको दाबी गर्दै संयोजक भट्टराईले यदि कसैले त्यसको प्रमाण ल्याए आफूले जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनु भयो । देशलाई समृद्धिमा लैजानको निम्ति मार्गदशक कोरेको उहाँको भनाई थियो । 

वैकल्पिक राजनीतिक अभियानमै आफूहरू कटिबद्ध भएर लागेको अध्यक्ष डा.भट्टराईले बताउनु भयो । देशमा आर्थिक आधार पछि परेकोले त्यसलाई अघि बढाउन पार्टीले चाहेको उहाँको भनाई थियो । समतामूलक तीव्र समृद्धिलाई मुख्य रुपमा अघि बढाउनु पर्ने अहिलेको अवस्था रहेको अध्यक्ष डा.भट्टराईको भनाई थियो । उक्त अधिवेशन भोलि (मङ्गलवार)सम्म चल्ने भएको हेमबहादुर थापाले बताउनु भयो । 

पार्टीका प्रवक्ता कृष्ण शर्माले निर्वाचन आयोगले दिएको नमुना बमोजिम एक व्यक्ति एक पद, एक पदमा दुई कार्यकाल, अग्रगामी सोच भएको पार्टीको रुपमा स्थापित गर्न लागिएको बताउनु भयो । पार्टीका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य दुर्गा सोव, अर्का सदस्य डा.जनक शाह लगायतले ठुला पार्टीबाट परिवर्तन नहुने जिकिर गर्नु भयो । पोखरा सभागृहमा सुरु भएको उक्त अधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनु भएको समाजबादी पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button