तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलङ्कालाई हरायो

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भुटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

आज खेल सुरुआती सातौं मिनेटमा भुटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औँ मिनेटमा श्रीलङ्काकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।

त्यसपछि खेलको ३२औँ मिनेटमा भुटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भुटानलाई ४–१ गोलको जित दिलाइन ।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । उक्त खेल साँझ ५:३० बजे हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button