तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी मन्त्री यादवद्वारा सय दिने प्रगति विवरण सार्वजनिक

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो सय दिने कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताउनुभएको छ ।

गत असार ३१ गते पदभार ग्रहण गरेपछि मन्त्री यादवले मेलम्ची आयोजना पुनः सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुनर्स्थापनासम्मका कार्यमा विशेष ध्यान दिइएको बताउनुभएको छ । उहाँको आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको बताउनुभएको छ ।

मन्त्रालयको प्रमुख सफलता मेलम्ची खानेपानी आयोजनाको पुनः सञ्चालन रहेको छ । मेलम्चीको पानी असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको छ, जसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालेको छ ।

मन्त्री यादवले सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाउनुभयो । उहाँले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन निर्देशन दिनुभएको थियो ।

पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको छ, जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । “हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भन्नुभयो । त्यसै गरी, कीर्तिपुर र महाकाल चौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको छ ।

मन्त्रालयले सरसफाइ सुधारमा विशेष प्राथमिकता दिएको छ । तर, असोज ११/१२ मा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए । मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिनुभएको छ र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको छ ।

मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको छ । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले ८ सय मिलिमिटर पाइप लाइनमा क्षति पुर्‍याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रे र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ । उहाँले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुनर्स्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

उहाँले जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।”

विश्लेषकहरूका अनुसार मन्त्री यादवको नेतृत्वमा मन्त्रालयले आयोजना कार्यान्वयनमा गति मात्र दिएको छैन, जनतासँगको सहकार्य र समस्याप्रति संवेदनशीलता पनि देखाएको छ । उहाँले आफ्नो कार्यशैलीबाट परिणाममुखी सेवा र प्रभावकारी प्रबन्धनको उदाहरण प्रस्तुत गर्दै मन्त्रालयलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका छन् ।

मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button