तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा भूमि लोक उत्सव हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण हुन लागेको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भूमि फाउन्डेसनले कार्तिक १० गते हुने उत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले आधुनिकतासँगै मिथिलाको लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरिरहेको बताउनुभयो । उहाँले उत्सवमा एक दर्जनभन्दा बढी समूहले प्रस्तुति दिने जानकारी दिनुभयो । उत्सवमा ६५ भन्दा बढी देश र विदेशबाट आएका कलाकार सहभागी हुने छन् ।

पूर्वी पहाडका लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत संसारमा फैलाउन सफल गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्य समूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक सङ्गीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने आशा आयोजकको रहेको छ ।

उत्सवमा ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button