तपाईँ सुन्दै हुनुहुन्छः

आत्म समीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्म समीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।

‘वर्ल्ड हिन्दू इकोनोमिक फोरम नेपाल च्याप्टर’ले आज यहाँ आयोजना गरेको ‘विजिनेस मिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसकिने भएकाले अब गम्भीर आत्म समीक्षासहित रूपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वाभाविक नभए पनि राजनीतिक परिवर्तन भएको धेरै वर्षसम्म पनि जनअपेक्षित प्रगति नहुनु चिन्ताको विषय भएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले अब कुनै पनि बहानामा आर्थिक समृद्धि र विकासलाई पछाडि पार्न नहुने बताउनुभयो ।

अति राजनीतिकरणबाट सीमित नेता कार्यकर्ता वा उनीहरूका नजिक रहेकाहरूले फाइदा लिए पनि जनता पछि पर्दा रहेछन् भन्ने तथ्य भोगाइबाटै पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग साधन स्रोत, जनशक्ति, उद्योग व्यापारको अनुभवको कमी भएर होइन, अति राजनीतिकरण र त्यसले सिर्जना गरेको अस्थिरताका कारण समृद्धि हासिल हुनु नसकेको हो भन्ने तथ्य स्वीकार गर्न अब हिचकिचाउनुपर्दैन । जबसम्म यो स्थितिको अन्त्य गर्न सकिँदैन, तबसम्म राम्रो साधन स्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन ।”

निजी क्षेत्रलाई हेर्ने राजनीतिक र प्रशासनिक क्षेत्रको धारणा सही नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रको पनि एउटा पक्षले राज्यका नियम कानुन पालनाभन्दा उल्लङ्घनतिर नै जोड गर्ने गरेको औँल्याउनुभयो । जनयुद्ध र विभिन्न लोकतान्त्रिक आन्दोलनमा हजारौँ सहिदहरूको बलिदानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको उल्लेख गर्दै उहाँले अब आफूहरूको ध्यान प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो ।

वर्ल्ड हिन्दू इकोनोमी फोरमका संस्थापक स्वामी विज्ञानन्दले मुलुकको अर्थव्यवस्था सुदृढ गर्न राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र शासक वर्गको दृढ इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । फोरम नेपाल च्याप्टरका अध्यक्ष प्रदीपमान वैद्यले नेपालको अर्थव्यवस्थालाई समृद्ध बनाउन फोरमले राजनीतिज्ञ तथा व्यावसायिक समुदायसँग नीतिगत बहस गर्दै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button