तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उसैले पाउनुपर्छ’

सिन्धुपाल्चोक । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयले नै उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उहाँले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोत साधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय स्तरमै विकास निर्माण लगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

पाँचपोखरी–थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जिल्लाकै गौरव बोकेको पर्यटकीय स्थल पाँच पोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको उद्देश्यमा ट्रेल रेस प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो ।

शुक्रबार सम्पन्न ४ हजार १०० मिटर उचाइको पाँच पोखरीदेखि १ हजार ७०० मिटर उचाइमा रहेको रैथाने पोखरी सम्मको २८ किलोमिटर दौडको उपाधि खोटाङकी निर्मला राईले जित्नुभएको छ । ५० जना महिलाहरू सहभागी २८ किलोमिटर लामो उक्त दौड उहाँले २ घण्टा २८ मिनेट २९ सेकेण्डमा पूरा गर्दै पहिलो हुनुभयो ।

त्यस्तै २ घण्टा ४९ मिनेटमा दौड पार गर्दै नेपाल पुलिस क्लबमा आबद्ध ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो र २ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाकी नितु तामाङ तेस्रो हुनुभयो ।

प्रतियोगिताको विजेताले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

महिलाहरूको क्षमता विकाससँगै आत्मनिर्भरतामा जोड दिनका लागि ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी संस्थापक अध्यक्ष माया गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button