तपाईँ सुन्दै हुनुहुन्छः

बालिकामाथि सामूहिक बलात्कार प्रकरण : होटल सञ्चालक पनि पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार प्रकरणमा होटल सञ्चालक पनि पक्राउ परेका छन् । बाँके प्रहरीले त्यसअघि बलात्कारको आरोपमा पाँच जनालाई पक्राउ गरिसकेको थियो । सुरुमा बलात्कार आरोपित पाँच जनालाई पक्राउ गरिएकोमा होटल सञ्चालकमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी छन् । त्यसअघि प्रहरीले बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकायालाई पक्राउ गरेको थियो ।

पाँच जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बुधबार पक्राउ गरेको हो । असोज २७ र २८ मा होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको थियो ।

बालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना आएको थियो । त्यसपछि प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button