तपाईँ सुन्दै हुनुहुन्छः

बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिँदै

काठमाडौँ । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केही मात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरूबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो । गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । 

मैदा व्यवसायीहरूले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीहरूलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भएतापनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताउनुभयो । व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन उहाँको आग्रह छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सृजना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button