तपाईँ सुन्दै हुनुहुन्छः

न्यूनतम साझा कार्यक्रम–२०८१ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री कार्कीको दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त रुपमा ल्याएको न्यूनतम साझा कार्यक्रम–२०८१ पूर्ण रुपमा कार्यान्वयनमा आउने बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बेलुका आयोजित कार्यक्रममा दुवै पार्टीले कार्यदल बनाएर संयुक्त रुपमा निमार्ण गरेको न्यूनतम साझा कार्यक्रम ग्रहण गर्नुहुँदै उहाँले यो कार्यक्रमले प्रदेशको संरचना स्थापित गर्दै समग्र प्रदेशको विकासमा मद्दत पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले दुइवटा ठुला राजनीतिक शक्तिको बीचमा बनेको प्रदेश सरकार केवल सत्ता प्राप्तिका लागि नभई जनताको हित र राजनीतिक स्थायित्वका लागि भएकाले अव जनताले अनुभूति गर्नेगरि विकास निमार्णको कामले गति लिने बताउनुभयो । 

७० प्रतिशत भन्दा बढी जनमत प्राप्त दुई दलको सहमतिमा वनेको यो सरकारले केही महिनामै उल्लेखनीय काम गरेको उहाँको दाबी थियो । 

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशको संवृद्धि र जनताको आवश्यकता पुरा गर्न ल्याइएको न्यूनतम साझा कार्यक्रमको आधारमा सरकारले आफ्ना कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्नका लागि कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, नेकपा एमाले संसदीय दलका  प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ र नेकपा एमाले संसदीय दलका सदस्य तिलचन्द पाठक सहित ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई पूर्वमुख्यमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको उपस्थितिमा सो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरिएको थियो । न्यूनतम साझा कार्यक्रमले समग्र प्रदेशका शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, उद्योग,  कृषि तथा सहकारी क्षेत्रको विकासका साथै तथा सुशासन, पारदर्शिता र जबाफदेहितालाई  जोड दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button