तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त शृङ्खलाका लागि पूर्व प्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

पूर्व प्रशिक्षक दासानायकेले उक्त प्रतियोगिता अवधिभर नेपाली टोलीको मेन्टरको भूमिका निर्वाह गर्नुहुनेछ । उक्त शृङ्खलामा नेपालले पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ ।

त्यस्तै नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ को उक्त शृङ्खला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउनुहुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button