तपाईँ सुन्दै हुनुहुन्छः

सय बिगाहाको धानबाली डुबानले नष्ट हुने अवस्थामा, डुबान हटाउन पहल सुरु

वीरगंज । झण्डै तीन सातादेखि वर्षासँगै धानखेतीमा पसेको बाढीको पानीले निकास नपाउँदा वीरगंजमा धान बाली नष्ट हुन लागेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासन सहितको टोलीले खेतको डुबान हटाउन आवश्यक पहल थालेको छ । 

वीरगंज महानगरपालिकाको वडा नम्बर १७, २४, २५ र २६ मा बाढीको पानी पसेर झण्डै एक सय बिगाहाको धानबाली डुबानमा परि नष्ट हुन थालेपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल तथा वडाध्यक्ष सहितका जनप्रतिनिधीहरुले आज डुबानमा परेको अलौ क्षेत्रमा पुगेर समस्या समाधानको प्रयास सुरु गरेका छन् । 

असोज ११ र १२ गते आएको अविरल वर्षापछिको बाढीको उचित निकास नहुँदा वीरगंज महानगरको चारवटा वडा डुबानमा परेको थियो ।

सोही डुबानको पानी निकासका लागि असोज २० गते वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह सहितको टोली र अलौका स्थानीय बीच पानी निकासको विषयमा विवाद हुँदा समस्या समाधान हुन सकेको थिएन । 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गरेसँगै पानीको निकासका लागी आज नगरप्रमुख सहित स्थानीय सुरक्षा अधिकारीहरू अलौमा पुगेर समस्या समाधान गर्न  जुटेका  हुन् । 

बिगत १९ दिन देखि डुबानले  निकास नपाउँदा धानबाली नष्ट हुने अवस्थामा पुगेको छ ।

लामो समयदेखि पानी जम्दा ती वडामा दुर्गन्धसमेत फैलिएको छ । लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी र इन्सेफ्लाइटिस रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास नपाएको हो । तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । 

पहिलेदेखि बर्षाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता हरपतगन्ज र बहुअरी अहिलेसम्म डुबानमुक्त हुन नसकेको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button