तपाईँ सुन्दै हुनुहुन्छः

तालवाराही मन्दिरमा कोजाग्रतपूर्णिमा मेला

पोखरा । पोखरा फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिर अवलोकन तथा दर्शन गर्नेहरुको बिहीबार अत्यधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन बिहीबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवाराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरूको वर्षकै अत्यधिक भिड भएको फेवा डुङ्गा व्यवसायी सङ्गठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । 

पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवाराही मन्दिरमा वर्षको तीन सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड भएको उहाँले दाबी गर्नु भयो । तालवाराही मन्दिरको दर्शन गर्न डुङ्गा सयरको लागि टिकट काट्ने र लाइफ ज्याकेट लिनेहरू केही समय कुर्दैैं लाइनमा समेत बस्नु भएको थियो । बिहानै देखि पोखराको तालवाराही क्षेत्रमा ठुलो भिड लागेको थियो ।

बिहीबार बिहानै देखि तालवाराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने पर्यटकहरूको सङ्ख्या बर्ष दिनकै सबै भन्दा बढी भिडभाड भएको एक डुङ्गा व्यवसायी पृतम कुँवरले दाबी गर्नु भयो । देशमा आर्थिक मन्दिका कारण पछिल्लो समयमा आफूहरू समेत प्रभावित भएको उहाँको भनाई छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ तालवाराही मन्दिरमा दशैंको अवसरमा घटस्थापना देखि दर्शन गर्नेहरुको भिडभाड हुने गर्दछ ।

तालवाराही घाटमा दशैं मेला नै लागेको छ । दैनिक उपभोग्य बस्तु देखि फेन्सि तथा रेडिमेटका सामानहरूको खरिद बिक्री गर्नेहरुको अत्यधिक भिडभाड भएको छ । कार्तिक महिनाको एक गते (सङ्क्रान्ति), कोजाग्रतपूर्णिमा समेत परेकोले आफूहरूको मनोकाङ्क्षा पूरा हुने विश्वासले आफूहरू तालवाराही मन्दिरमा दर्शन गर्न आएको पोखराकी इन्दिरा पौडेलले बताउनु भयो । 

मन्दिरमा जान आउनको लागि प्रति व्यक्ति ६० रुपैयाँ र लाईफ ज्याकेटको थप १० रुपैयाँ शुल्क लाग्ने गर्दछ । दशैंको अवसरमा पोखरा, पोखरा आसपास, काठमाडौँ, चितवन, बुटवल, धरान केही भारत र न्यून सङ्ख्यामा तेस्रो मुलुकका विदेशी पर्यटकहरू डुङ्गा सयर गर्न आएको व्यवसायीहरू बताउनु हुन्छ । स्वरोजगार डुङ्गा व्यवसायी करिब २ सय ५० सहित मजदुरी गर्ने डुङ्गा व्यवसायी गरी ५ सय जना रहनु भएको छ । फेवातालको ८ वटा घाटमा ७ सय ७५ वटा डुङ्गा रहेको समितिले जनाएको छ ।

कोरोनाको कारण देशमा भएको आर्थिक मन्दी र तालवाराही मन्दिर मर्मत संहार समेत गर्न लागेको कारणले गर्दा पनि ६ बर्ष अघि जस्तो अत्यधिक भिड भने नभएको व्यवसायीहरूले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button