तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल रेल्वे कम्पनीसँग रहेका दुर्लभ इन्जिनहरू संरक्षणको पर्खाइमा

जनकपुरधाम ।  नेपालको एक मात्र नेपाल  रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् ।

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं २ खजुरी स्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका सो इन्जिनहरूको संरक्षण गर्नु पर्ने आवाज पहिला देखि नै उठे पनि संरक्षण हुन सकेको छैन ।

  महोत्तरी जिल्लाको जङ्गलबाट भारतमा रेल्वे विस्तारका लागि साखुको गोलिया काठ ओसार्ने उद्देश्यले तत्कालीन ईष्ट इन्डिया कम्पनीको अनुरोधमा नेपालका राणा शासकहरूले अनुमति दिएपछि विक्रम सम्बत १९९४ मा रेल सेवा सुरु भएको थियो ।

भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको वजलपुरावाट साखुको गोलिया ओसार्नका लागि ती दुर्लभ इन्जिनहरूको प्रयोग गरिएको थियो ।कालान्तरमा आएर सर्वसाधारणले सो इन्जिनलाई यात्री ओसार प्रसारमा प्रयोग गरिन थालेका थिए ।

नेपाल रेल्वे कम्पनीसँग रहेको निक्कै पुरानो वाष्प इन्जिन नेपाल बाहेक भारत र बेलायतमा मात्र रहेका छन् । यसको संरक्षण गरेको खण्डमा नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने भएकोले यी दुर्लभ वाष्प ईन्जिनहरुलाई सङ्ग्रहालय निर्माण गरेर त्यसमा राखेर संरक्षण गरिनु पर्ने माग उठ्दै आएको छ ।

नेपालको जनकपुर रेल्वे कम्पनीसँग भएको वाष्प इन्जिनको नाउँ महावीर, पशुपति, गुह्येश्वरी, राम, सीता, जानकी रहेका छन् । नेपालका महत्वपूर्ण धार्मिक स्थल तथा धार्मिक विभूतिका नाउँ दिइएका ती इन्जिनलाई संरक्षण गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले इन्जिन राखिएको कारखाना क्षेत्रलाई तार वार गरेर घेरा गरेर संरक्षणको प्रयास गरेका छन् ।

वाष्प इन्जिन भएको न्यारोगेज रेल सेवा सञ्चालनमा रहेको वेलामा २०६० सालमा आएको बाढीले पुरानो रेल्वे लिक तथा ट्र्याकमा क्षति गरेपछि बन्द भएका थिए । जनकपुर–जयनगर रेल सेवा पछि भारत सरकारको सहयोगमा  डिजेल इन्जिन प्राप्त गरेपछि २०७० सालमा ब्रोडगेज रेलमा रूपान्तरण भएका थिए । पछिल्लो समयमा नेपाल सरकारले अत्याधुनिक दुई वटा इन्जिन सहितका डब्बा खरिद गरेपछि ब्रोडगेज सेवाको रुपमा नेपाल रेल्वेले सेवा दिँदै आएको छ ।

यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरी स्थित रेल्वे कारखानाको स्थलगत निरीक्षण गरेर दुर्लभ ईन्जिनहरुलाई सङ्ग्रहालय बनाएर त्यसमा राख्ने विषयमा संघ सरकारसँग कुरा गर्ने बताउनु भएको हो ।  

रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।        

प्रतिक्रिया राख्नुहोस्

Back to top button