तपाईँ सुन्दै हुनुहुन्छः

जब खसी आँसु झार्दै गोठतिर दौडियो…..

आँसु झार्दै गोठ झरेपछि रणबहादुर आचार्यसँग उक्त खसी ।

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ मिलघुम्तिमा मार हान्न (काट्न) ठिक्क पारेको खसी लम्पसार परेर आँसु झार्न लागेपछि त्यहाँ रहेका सबै मानिसलाई भावुक बनाई दिएको छ ।

मार हान्न ठिक्क पारेको ठाउँबाट खसी आँसु झार्दै गोठतिर दौडिएपछि खसी धनी सपना आचार्यले उक्त खसीलाई अब नकाट्ने र बाँचुन्जेल पाल्ने बताउनुभएको छ । विजया दशमी २०८१ को महाअष्टमीको दिन शुक्रवार खसी धनी सपना आचार्यले गोठघर छर्पकुबाट खसीलाई मार हान्न बसोबास रहेको मिलघुम्तिमा लैजानुभएको थियो ।

सांस्कृतिक परम्परा अनुसार खसीलाई मार हान्नुअघि पर्साउनुपर्ने भएकोले उक्त खसीलाई पर्साउन धेरै पटक पानी छ्यापियो तर खसी पर्सेन । त्यहाँ उपस्थित केहीले दशैँमा नपर्से पनि खसी काट्न हुने सल्लाह दिएपछि एक जनाले खुट्टा र अर्कोले टाउको समाएर मार हान्न खोज्दा खसी लम्पसार परेको खसी धनी आचार्यले बताउनुभयो ।

दुई÷तीन पटक नै खसी लम्पसार परेपछि सबैले अब काट्न हुँदैन भनेर त्यसलाई छोडिदिएका थिए । त्यसरी मार हान्ने ठाउँबाट उम्किएको खसी आँसु झार्दै छर्पकुमा रहेको गोठमा पुगेको आचार्यको भनाई छ ।

स्थानीय समाजसेवी सुवास बिक्रम शिवाकोटी आफु मार हान्ने ठाउँमा जान लाग्दा खसी आँसु झार्दै गोठतिर गएको देखेको र आफूले पनि खसी धनिलाई अब त्यसलाई कहिल्यै नकाट्नु भनि सल्लाह दिएको बताउनुहुन्छ ।

घरमै जन्मिएको उक्त खसीलाई सपना आचार्यको फरक क्षमता भएका जेठाजु रणबहादुर आचार्यले डेढ वर्षदेखि निक्कै माया गरेर पाल्नुभएको थियो । आफूले पालेको खसी अब कहिल्यै नकाट्ने थाहा पाएपछि रणबहादुर समेत निक्कै खुशी देखिएको समाजसेवी शिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button