तपाईँ सुन्दै हुनुहुन्छः

दृष्टिविहीन जय बहादुरलाई पत्रकारले बनाइदिए पक्कीघर

बाँके । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहीन परिवारको वर्षाले भत्किएको घर निर्माण भएको छ ।

बर्सातको पानीले घर भत्काइदिएपछि बेघर बनेका जय बहादुर विकलाई पत्रकार दाहालले चौतर्फी सहयोग जुटाएर घर निर्माण गर्नुभएको हो  । दाहालकै सक्रियतामा निमार्ण सामाग्री र आर्थिक सहयोग जुटाई निमार्ण सम्पन्न भएको नवनिर्मित घर एक कार्यक्रम गरि दृष्टिविहीन जय बहादुर विकको परिवारलाई हस्तान्तरण गरिएको छ । दृष्टिविहीन विकको नवनिर्मित घरको समाजसेवी लिल बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक “तुफान”ले सञ्चारकर्मसँगै सामाजिक कार्य स्वरूप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा पत्रकार दाहाललाई बधाई सहित धन्यवाद दिनु भयो । अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताउँदै दृष्टिविहीन जय बहादुर विकको घर बनाउन सहयोग गर्ने सबैलाई मानव हुनुको धर्म निभाएको भन्दै धन्यवाद दिनु भयो ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशंसाका पात्र रहेको जिकिर गर्नु भयो । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको भनाई राख्नु भएको थियो ।

खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहीन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रसारण गरेको थियो । पत्रकार दाहालको पहल र दाहालका सहकर्मी गणेश राईको सक्रियतामा आर्थिक सङ्कलन हुनुका साथै निर्माण सामाग्रीहरू स्वतःस्फूर्त सङ्कलन भएको थियो ।

घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको उल्लेख गर्नु भयो । समाजसेवी थापाले सञ्चारकर्मी भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको बताउनु भयो ।

घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष एमालेका नेता तिलकवीर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नु भयो । सुनारले घरबार विहीनहरूका लागि सरकारले नै यस किसिमको अभियान स्वरूप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताउनु भयो ।

घर हस्तान्तरणकै अवसरमा समाजसेवी लिल बहादुर थापाले विकलाई ६ महिना पुग्ने खाद्यान्न सामाग्री प्रदान गरेका गर्नु भएको थियो । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरीक्षक पूर्ण केसी, सहायताका लागि सहयोगी हातहरूका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button