तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज भन्सार गेट राती १०:३० बजेसम्म खुल्ने

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १०:०० बजे नै गेट बन्द हुने गरेको थियो ।

भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १० बजेसम्म (भारतीय समय १० बजे) खुल्ला रहने र भारतीय नाकाबाट नेपाली बेरियरसम्म पैदल आउन १०/१५ मिनेट समय लाग्ने हुँदा समस्या भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार यात्रु शाखाको बेरियर भारतीय नाकाको समयअनुसार व्यवस्थापन गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो ।

नेपाली बेरियर गेट अब बिहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ । भन्सार नियमावली, २०६४ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचना पाटीमा टाँसिदिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

यसैगरी भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरूको आवागमनलाई सहज बनाउनेछ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले लामो समयदेखि यो आवाज उठाउँदै आएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो निर्णय कार्यान्वयनसँगै नागरिकलाई निकै सहज हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भारतीय र नेपाली सीमा सुरक्षा बेरियर गेट बन्द हुने समय नमिल्दा भइरहेको अप्ठेरो अब सम्बोधन भएको बताउनुभयो ।

बेरियर गेट खुल्ला रहने समय बढाइएको बारेमा जानकारी दिन जमुनाहमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button