तपाईँ सुन्दै हुनुहुन्छः

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ ।

भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भीडन्त भएको थियो । उक्त भीडन्तमा भगवती विजयी भएकी थिइन् । सोही कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको हो ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान् बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व कीर्तिमान भएको जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पनि कीर्तिमान् समावेश गर्न पहल भइरहेको भगवतीले जनाएकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button