तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज म्याराथनलाई उत्सवमय बनाउन नेपालगन्ज कनक्लेव

नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको पूर्व सन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले साझेदारी गर्ने भएको छ । 

धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करणलाई उत्सवमय बनाउन ‘दशौँमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्तरुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता(पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित धारा नेपालगन्ज म्याराथन र यसको भगिनी इभेन्ट नेपालगन्ज कनक्लेवमा साझेदारी गर्न पाउँदा सम्पूर्ण युवा उद्यमीलाई उत्साहित बनाउने बताउनुभयो । ‘प्रायोजक खोज्नेदेखि खर्च व्यवस्थापनमा हाम्रो समान जिम्मेवारी हुनेछ,’ मञ्चका अध्यक्ष एवं डल्फिन ग्रुपका निर्देशक थापाले भन्नुभयो, ‘देश र समाजप्रति युवा उद्यमीको जिम्मेवारीबोध गराउन, केही सिक्न सिकाउन प्लेटफर्म विकास गर्न कनक्लेव सफल पार्ने भारी हामीले पनि बोकेका छौँ ।’ 

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले समाजलाई दिशानिर्देश गर्ने कार्यक्रममा युवा उद्यमीसँग हातेमालो गर्न पाउँदा बेग्लै ऊर्जा मिलेको बताउनुभयो । नेपालगन्ज कनक्लेव आगामी मङ्सिर २० र २१ गते हुनेछ भने विभिन्न आठ सेसनमा बहस र छलफल हुनेछ । 

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button