तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिलालाई सामाजिक सुरक्षामा भत्ता 

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले पालिकाभरिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षबाट पालिकाभरिका एकल महिलालाई मासिक पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको हो ।

आर्थिक वर्ष ०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन लागिएको प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जानकारी दिनुभएको छ । पालिकाले दलित र गैरदलित हकमा ४० देखि ५९ वर्ष नपुगेका महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जनाएको छ ।

पालिकाले एकल महिलाहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्ध बिच्छेद भएको प्रमाण पत्र, ४० वर्ष सम्म विवाह नगरेको प्रमाणित पत्र उपलब्ध गराउन आग्रह गरेको छ ।

गाउँपालिकाले दुई वर्षदेखि एकल पुरुष ५० देखि ६७ वर्षसम्मका ४३ जनालाई मासिक पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

दुहुँ गाउँपालिकामा ज्येष्ठ नागरिक ७८१ जना, ज्येष्ठ नागरिक दलित ४९ जना, ज्येष्ठ नागरिक एकल महिला ९९ जना, विधवा २१६ जना, पूर्ण अपाङ्गता भएका ३२ जना, अति अशक्त अपाङ्गता भएका ११० जना, र दलित बालबालिका १०० जना गरी कुल १ हजार ३८८ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

एकल महिला लामो समयसम्म बिहे नगरी बसेका तथा सम्बन्ध विच्छेद गरेर एकल रुपमा बस्दै आएका महिलालाई पनि सामाजिक सुरक्षा कार्यक्रममा जोड्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताउनुभयो ।

संविधानको धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त, र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ ।

संविधानको सोही धारा अनुरुप स्थानीय सरकारले पालिकाभित्रका एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न लागेको अध्यक्ष बडालको भनाई छ । पालिकाले एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने भएपछि एकल महिला खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button