तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख सहयोग गर्न प्रदेश सत्ता गठबन्धनको आग्रह

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख रकम मधेश प्रदेश सरकारबाट दिनका लागि आग्रह गरेको छ ।

मधेश प्रदेश सरकारमा रहेका गठबन्धन दलहरूको आज बसेको बैठकले असोज १२ र १३ गतेको लगातार बर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत दिनका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम हस्तान्तरण गर्न मधेश प्रदेश सरकारसँग आग्रह भएको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले दुई दिनमा नै प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बसेर प्रधानमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय दैविक प्रकोप राहत कोषमा उक्त रकम प्रदान गर्नेसम्बन्धी निर्णय हुने बताउनुभयो ।

सत्तारुढ दलहरूको सोही बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायहरूमा भएको राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूको सङ्ख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदी विषयमा अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने गरी एक समिति गठन गरेको छ ।

मधेश प्रदेशसभामा लोसपा नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठित सो समितिमा नेकपा एमालेबाट प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाल, नेपाली काङ्ग्रेसबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्यका रुपमा रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button