तपाईँ सुन्दै हुनुहुन्छः

आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न तीन तहको सरकारलाई आग्रह गरेको छ ।

आयोगले आम उपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

“हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आयोगले हालैको भारी वर्षाबाट उत्पन्न बाढीपहिरो र डुबानबाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button