तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा असोज ३० गतेदेखि अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा यही असोज ३० गतेदेखी नेपाल योगा महोत्सव २०२४ हुने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा आगामी कात्तिक ३ गतेसम्म उक्त महोत्सव हुने होटल संघ नेपालका महासचिव एवं कार्यक्रमका सभापति साजन शाक्यले बताउनुभयो ।

पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको उहाँले जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन हुने दाबी गर्नुभयो । महोत्सवमा ५० विदेशीसहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त योग विज्ञहरुको जमघट हुने र उहाँहरूबाट विभिन्न विधामा योगा कक्षाहरू पनि सञ्चालन गरिने भएको उहाँले जनाउनुभयो ।

कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको तीन हजार रुपैयाँ र विदेशीलाई छ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । महोत्सव अवधिभर ४ दिन सहभागी हुनेहरूका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ । यस महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ ।

नेपालमा योगाकै लागि भनेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको सङ्घले जनाएको छ । नेपाल चिनाउन र योग प्रेमीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने सङ्घले दाबी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button