तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्यो’

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ ।

आज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताउनुभयो ।

मन्त्री डा राणा क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेश मन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनुभएको हो ।

मन्त्री डा राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिने गरी उपस्थित भएको पनि जानकारी दिनुभयो ।

एक प्रश्नमा उहाँले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिनुभयो ।

उहाँ क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकका क्रममा उहाँले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि उहाँ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी हुनुभयो । सो कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसिडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी हुनुभएको थियो ।

यी महत्वपूर्ण बैठकहरूमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेका समस्याहरू विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उहाँले सुनाउनुभयो ।

त्यसैगरी नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उहाँले ती फोरमहरूमा जानकारी दिनुभएको थियो ।

आफूले यसपटक अति कम विकसित मुलुकहरूका तर्फबाट जि–२० का विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थामा अति कम विकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उहाँले बताउनुभयो ।

साथै भूपरिवेष्टित विकासशील देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवर्द्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी पनि उहाँले दिनुभयो ।

त्यस्तै पिस बिल्डिङ् कमिसनको मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक पारित गरेको र नेपाल दिगो शान्तिका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराएको उहाँले बताउनुभयो ।

महासभाकै दौरानमा विभिन्न फोरमहरूमा सहभागी भएर उहाँले महिला प्रतिनिधित्व, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष (अफिसियल) राहदानी वाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गर्नुभएको थियो ।

यसै क्रममा उहाँले वासिङ्टन पुगी नेपाल र अमेरिकाबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रसङ्घको साइडलाइनमा उहाँले राष्ट्रसङ्घका उपमहासचिवहरू, विभिन्न देशका मन्त्री तथा विदेश मन्त्रीहरूसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि उहाँ कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्नुभएको थियो । सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button