तपाईँ सुन्दै हुनुहुन्छः

“बाढी तथा डुबान, कटान तथा भूक्षयबाट जोगिन चुरेको संरक्षण आवश्यक”

जनकपुरधाम । पटक पटकको बाढी पहिरोका कारणले हुने गरेको धनजनको क्षतिको प्रमुख कारणमा चुरेको दोहन तथा अव्यवस्थित बसोबास रहेको विज्ञहरुले औंल्याउनुभएको छ ।

नेपाल–भारत खुल्ला सीमा संवाद समूहको आज जनकपुरधाममा आयोजनामा “बाढी–विपत्ति तथा सीमा वार–पार” विषयमा अन्तरक्रियामा लामो समय नदी तथा सिँचाइका क्षेत्रमा काम गरेर सेवा निवृत्त हुनुभएका वरिष्ठ इन्जिनियर रत्नेश्वरलाल कर्णले नेपालबाट भारतको सीमाना भएर १ सय ६४ वटा नदी बग्दै गरेको बताउँदै चुरेको विनाश रोकी चुरेको फेददेखि नै पानी रोक्न विभिन्न उपाय अवलम्बन गरेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बाढी तथा पहिरोबाट जोगिन चुरेको संरक्षणका साथै नदी तथा खोलालाई मिचेर घर–वस्ति बनाउन नहुने बताउनुभयो ।

कार्यक्रममा सहभागी नेपाल तथा भारतका अन्य विज्ञहरुले चुरेको संरक्षणमा नेपाल तथा भारत सरकारले विशेष रुपमा सहकार्य गरेर काम गरेको खण्डमा मात्र दुवै देशमा वर्षेनी रुपमा हुने गरेको डुबानबाट आम जनतालाई जोगाउन सकिने बताउनुभयो ।

नेपाल–भारत खुल्ला सीमा संवाद समूहका प्रदेश अध्यक्ष श्याम सुन्दर सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष राजीव झाले समस्याका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतका वरिष्ठ पत्रकार प्रभात कुमार झा, भारतीय कम्युनिष्ट पार्टी मालेका नेता भूषण सिंह, नेता रमण सिंह, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल सहितका वक्ताहरूले चुरेको विनाश रोक्न दुवै देशका लागि हितकर भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button