तपाईँ सुन्दै हुनुहुन्छः

लगानी सम्मेलन सफल बनाउन सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलन आयोजना गर्नका लागि सम्मेलनको मुल आयोजक समिति निर्माण गरी गर्दै काम अघि बढाएको छ । जस अनुसार सम्मेलन आयोजक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरू बनाउने र परियोजनाहरूको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्‍याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ । कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग सङ्गठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघ लगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ ।

यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र सङ्घसंस्थालाई समेटिएको छ । त्यस्तै दशैं अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ ।

कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नुपर्ने र भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button