तपाईँ सुन्दै हुनुहुन्छः

‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक

काठमाडौँ । भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, प्राडा दिनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्ताबेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्ताबेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरू यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।

विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दिनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गर्नुभएको थियो । डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्ताबेज रहेको बताउनुभयो ।

टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । यस सङ्ग्रहमा लिच्छवी काल सम्मका दस्ताबेजहरू अध्ययन गर्न पाइने उहाँले बताउनुभयो ।

प्राडा दिनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरू पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गर्नुभएको कामको प्रशंसा गर्नुभयो ।

लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलन मात्र भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताउनुभयो ।

पूर्व प्रशासक समेत रहनुभएका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेख लगायतका दस्ताबेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गर्नुभएको छ । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button