तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा आज यहाँ आयोजित फोहर पानी निगरानी प्रयोगशालाको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले जतिसक्दो छिटो वैकल्पिक स्रोतका रूपमा रहेको सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो । शुद्ध पानी पिउन पाउने जनताको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले फोहोर पानीसँग सम्बन्धित प्रयोगशालालाई आवश्यक जनशक्ति र उपकरणसहित प्रभावकारी र सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिनुभयो ।

यसैबीच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरी घाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्वपूर्ण उपकरणको मर्मतको प्रगति अवलोकन गर्नुभएको छ । उहाँले बाढीले क्षति पुर्‍याएका क्षतिग्रस्त अत्यावश्यक उपकरण तत्काल मर्मतसम्भार गर्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा उहाँले सुन्दरी घाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको समेत अवलोकन गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button