तपाईँ सुन्दै हुनुहुन्छः

माइखोला–गोलाखर्क खण्ड पूर्ण रूपमा अवरुद्ध

इलाम । मेची राजमार्गको इलाममा पर्ने माइखोला–गोलाखर्क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लामो समयदेखि पानी पर्ने बित्तिकै बिग्रिने गरेको यो खण्ड आज (शुक्रबार)देखि पूर्ण रूपमा बन्द भएको हो ।

अवरुद्ध भएको सडकमा मोटरसाइकल समेत वारपार गर्न नसकिने अवस्था छ । राजमार्गमा जोखिम धेरै भएपछि आज मर्मत थालिएको थियो । तर, माथिबाट पहिरो झरेर राजमार्ग थप बगेपछि सवारीका साधन बन्द भएका हुन् । यद्यपि, मर्मतको काम भइरहेको तर आज–भोलि नै मर्मत सकिने अवस्था समेत नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सवारीका साधन चल्न नसकेपछि यहाँ आइपुगेका सयौँ यात्रु र सवारी साधन अलपत्र परेका छन् । झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथि पट्टिको सडकमा ताँती लागेका छन् । अहिले झापातिरबाट आएका सवारीले माइखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदै छन् । अझै पनि पानी परिरहेकाले जोखिम बढिरहेको जिल्ला प्रशासन प्रमुख कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button