तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालबाट अवकाश प्राप्त पाँच कर्मचारीको बिदाइ

काठमाडौँ । रेडियो नेपालले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त विभिन्न ५ जना कर्मचारीहरूलाई आज एक समारोहका बीच बिदाइ गरेको छ ।

रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा रेडियो नेपालको सेवाबाट निवृत्त हुनुभएका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत नविनप्रकाश शाक्य, वरिष्ठ सम्पादक हृदयकान्त झा तथा वरिष्ठ प्राविधिक अधिकृत द्वय टङ्कप्रसाद आचार्य र अनन्त कोइरालालाई कदर पत्रसहित बिदाई गरिएको हो ।

बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल संवत्को पूर्व सन्ध्यामा आज आयोजित शुभकामना आदानप्रदान तथा सेवानिवृत्त कर्मचारी बिदाइ समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अवकाशलाई नयाँ जीवनको सुरुवात गर्ने अवसरका रुपमा लिई सेवा निवृत्त जीवन सक्रिय र ऊर्जाशील बनोस् भन्ने कामना गर्नुभयो ।

कार्यकारी निर्देशक लामाले रेडियो नेपालले प्रादेशिक प्रसारणहरूलाई अझ बढी सशक्त र प्रभावकारी बनाउने ढंगले काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रदेशका श्रोता तथा जनताको रुचि अनुसारका विषयवस्तुलाई बढाउँदै जाने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्दभुषणलाल दासले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका रुपमा रूपान्तरित हुन गइरहेको सन्दर्भमा हाम्रो दायित्व अझ बढेकोले त्यस अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा सेवा निवृत्त हुनुभएका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले रेडियो नेपालमा लामो समय काम गर्दा पुरानो र नयाँ प्रविधिको प्रयोग गर्ने अवसर पाएको उल्लेख गर्नुहुँदै आगामी दिनमा रेडियो नेपाल अझ बढी प्रविधि मैत्री बनोस् भन्ने शुभकामना दिनुभयो ।

यस्तै सेवा निवृत्त वरिष्ठ सम्पादक एवं मैथिली भाषाका समाचार वाचक हृदयकान्त झाले रेडियो नेपालले विभिन्न मातृभाषाको समाचार तथा कार्यक्रमहरू प्रसारण गरेर ती भाषाको मानक वनेको उल्लेख गर्नुहुँदै प्रसारण सामग्रीलाई अझ बढी प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका समाचार महाशाखा प्रमुख एवं निर्देशक पवन प्याकुरेल, प्रशासन महाशाखा प्रमुख एवं उपनिर्देशक बद्रीविशाल तण्डुकार, इन्जिनियरिङ महाशाखाका उपनिर्देशक पुरुषोत्तम मानन्धर, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल लगायतले सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा रेडियो नेपाल रूपान्तरित हुन लागेकाले अबका दिनमा यस संस्थालाई कसरी अझ बढी सशक्त बनाउन सकिन्छ त्यसमा सेवा निवृत्त र सेवारत सबै कर्मचारीको चासो रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button