तपाईँ सुन्दै हुनुहुन्छः

यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लो समयमा यातायात क्षेत्रमा देखिएका समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई आज एक सय थान ‘स्मार्टफोन’ हस्तान्तरण गर्दै लाइसेन्स (चालक अनुमतिपत्र) वितरणमा भइरहेको ढिलाइलगायत यातायातको क्षेत्रमा देखिएका समग्र समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरीलाई स्मार्टफोन प्रयोगमा ल्याउन निर्देशन दिँदै त्यस सम्बन्धमा देखिएका समस्या आफूले समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम र सडकमा देखिएको समस्या समाधानको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले काठमाडौँ उपत्यकाभित्र परीक्षणका लागि मात्रै स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको र यो क्रमैसँग बागमती प्रदेशका सबै जिल्लामा प्रयोगमा ल्याउने योजना सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button