तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ अगाडि नै राजमार्गहरू सुचारु गरिने 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू दशैँ अगाडि नै खुलाउने गरी धमाधम काम भइरहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको पूर्वधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री दाहालले दसैँमा घर फर्कन यात्रुलाई यातायात सुचारु गर्न सरकारले  निजी निर्माण उपकरणहरू लिएर पनि सडक खुलाउने कामलाई तीव्रता दिएको बताउनुभयो । 

बैठकमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले हालै गएको बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो ।

अस्थायी आवास र स्थायी आवास बनाएर कसरी बाढी पहिरो प्रभावितलाई पुनर्स्थापना गर्न सकिन्छ  भन्ने विषयमा मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने बताउनुहुँदै मन्त्री दाहालले  दसैँमा घर जानेहरूलाई टिकटको व्यवस्था सहज होस् भनेर यातायात व्यवसायीसँग सहकार्य गरिरहेको  जानकारी दिनुभयो । 

यातायात व्यवसायी तथा हवाई कम्पनीलाई अत्यधिक भाडा नलिन आग्रह गरेको र चाडपर्वपछाडि भने महँगी र मूल्य वृद्धिका आधारमा सार्वजनिक सवारी साधनको भाडा बढ्न सक्ने  मन्त्री दाहालले बताउनुभयो । 

बैठकमा सांसदहरूले जल तथा मौसम विज्ञान विभागले अगाडि नै अलर्ट जारी गर्दा पनि ध्यान नदिँदा ठुलो क्षति भएको बताउनुभयो । 

सांसदहरुले रोशी र झ्याप्ले खोला  लगायत राजमार्गका विभिन्न स्थानमा यात्रुहरूले अनाहकमा ज्यान गुमाउनु परेको बताउँदै पीडितलाई तत्काल सरकारले राहत दिनुपर्नेमा जोड दिनुभयो । 

मानव सिर्जित समस्याका कारण वर्षापछि आएको बाढीपहिरोले जनधनको क्षति पुराएकाले पुनर्निर्माण लागि सरकारले विशेष बजेटको विषयमा सोच्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button