तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

काठमाडौँ। त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो ।

त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो । आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए ।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन् । त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान तीन–तीन विकेट लिए भने हर्ष ठाकरले दुई विकेट लिए । त्यसैगरी सादविन जफरले एक विकेट झारे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button