तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको राजधानीको पूर्वाधार निर्माणको डिपीआर बन्दै : मुख्यमन्त्री सिंह 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको राजधानीको पूर्वाधार तयार गर्नका लागि विभिन्न योजनाहरूको डिपिआर तयार भइरहेको बताउनु भएको छ । 

मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा दशै, दीपावली तथा छठ पर्वको अवसरमा आज देखि जनकपुरधामको गोपाल धर्मशालामा शुरु भएको सस्तो बजारको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले जनकपुरधामको ५२ विघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबार सहितको सभा हल र सरकारको अन्य पूर्वाधारको निर्माणका लागि डिपिआर तयार गर्ने काम भइरहेको बताउँदै साढे दुई अर्बको लागतमा रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा क्रिकेट खेलमैदान मात्र निर्माण हुने बताउनु भयो । 

मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्को दुग्धमतिको पहिलाको स्वरूप अनुसारको विकास गर्नका लागि नक्सांकनका लागि प्राविधिक सहितका कर्मचारीहरू खटाउने काम प्रदेश सरकारबाट भएको बताउनु भयो । 

उहाँले जनकपुरधाम क्षेत्रमा गुठी संस्थानको ९ हजार विघा जग्गा अतिक्रमणमा परेको बताउँदै जग्गाको सदुपयोग तथा त्यसको सही प्रयोगका लागि ती जग्गाहरूलाई प्रदेश सरकारमातहत ल्याउनका लागि सरकार लागि परेको बताउनु भयो । 

मधेश प्रदेश सभाका एमालेका उपनेता दिपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरणको निर्माणको माग गर्दै आफूले दुई पटकसम्म प्रदेश सभाको बैठक अवरुद्ध गरेको बताउँदै जनकपुरधामको विकासका लागि प्रबुद्ध वर्ग अगाडी आउन आवश्यक भएको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले दशै बजारले आम उपभोक्ताहरूलाई सस्तो दरमा दरमा दैनिक उपभाेग्यका सामग्री पाउने स्थल भएकाले त्यसमा खरो रुपमा उत्रोस् भन्ने कामना गर्नु भयो ।  

पूर्व राज्यमन्त्री अरविन्द कुमार साहले जनकपुरधाममा धार्मिक पर्यटनको व्यापक सम्भावना भएपनि त्यस अनुसारको काम हुन नसकेको बताउँदै जनकपुरधाममा पर्यटक टिकाउने विषयमा स्थानीय व्यापारीहरू गम्भीर हुन जरुरी रहेको बताउनु भयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले अर्को वर्ष देखि दशै बजार गोपाल धर्मशालाका अतिरिक्त तिरहुतियागाछीमा आयोजना गर्ने र मेला छठसम्म रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा प्रदेश सभाका पूर्व सदस्य परमेश्वर साह, पूर्व अध्यक्षहरू बजरंग प्रसाद साह, इन्जिनियर प्रकाशचन्द्र साह, ललित साह, रामनरेश साह, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नु भएको थियो । आज देखि शुरु भएको दशै बजार २५ गतेसम्म चल्नेछ । दशै बजारमा ९७ वटा स्टल रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फूलदेव पण्डितले जानकारी दिनु भयो । दशै बजारमा दैनिक उपभाग्यका सामाग्रीहरू, खाद्यान्न, लत्ता कपडा, कष्टमेटिक्सका सामानहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button