तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

तेहरान । सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ ।

सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले बतायो ।

सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पङ्क्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्रसले दिवानीको मृत्युको पुष्टि गरेको छैन । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मङ्गलबार दमास्कस क्षेत्रलाई लक्षित गरी भएको इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकुसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता इजरायलले सिरियामा धेरै आक्रमण गरेको छ र विशेषगरी सेनाको चौकीहरू र इरान समर्थित लडाकुहरूलाई लक्षित गरेको छ । 

इजरायली अधिकारीहरूले सिरियामा भएका व्यक्तिगत आक्रमणहरूबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन् । 

सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकु सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृतहरू मात्र रहेको बताएको छ । 

इजरायललाई जिम्मेवार ठहर गरिएको शृङ्खलाबद्ध आक्रमणहरूपछि इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति घटाएको बेलायतस्थित सिरियन अब्जर्भेटरीले अप्रिलमा बताएको थियो । 

अप्रिलमै भएको एक आक्रमणमा दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासलाई लक्षित गर्दा दुई जनरलसहित सात रिभोल्युसनरी गार्ड मारिएका थिए । त्यसपछि इरानले अप्रिल १३ र १४ मा इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गर्दै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्‍यो । 

यस साता तेहरान समर्थित लडाकु नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रो पटक आक्रमण गर्‍यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button