तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरका लिङ्गो फेरियो 

जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटन गन्तव्य चन्दननाथ भैरबनाथ मन्दिरको लिङ्गो फेरिएको छ । हरेक वर्ष घटनास्थापनाका दिन पुरा लिङ्गा ओरालेर नयाँ लिङ्गा प्रतिस्थापन गर्ने प्रचलनअनुसार विधिवत् पूजा आजा सहित हजारौँ भक्तजन र तथा सुरक्षा निकायको उपस्थितिमा लिङ्गा फेरिएको हो । 

१० औँ शताब्दी पहिलेदेखि चन्दननाथ मन्दिरमा लिङ्गा फेर्ने चलन रहेको स्थानीय पुजारी विष्णु उपाध्यायले बताउनुभयो । उहाँका अनुसार तिब्बतसँग तत्कालीन जुम्ला राज्यको जीत पछि विजय स्तम्भका रुपमा एउटा लिङ्गो,अर्को देवी भगवती नाममा गरी चन्दननाथ र भैरबनाथ मन्दिरमा चार वटा लिङ्गा फेर्ने गरिएको छ । 

जुम्ला आउने सबै पर्यटकका लागि भ्रमण अवलोकन गर्ने मुख्य गन्तव्यका रुपमा रहेको चन्दननाथ भैरबनाथ मन्दिरको प्रर्बद्धनमा स्थानीय भक्तजनदेखि सरकारी निकायको सक्रिय छन् ।  

कर्णाली प्रदेशकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घरघरमा घटस्थापना भित्र्याउने चलन छ । भने मन्दिरको माटो लिएर खेतमा राख्दा उब्जनी हुने समेत मान्यता रहेको छ ।  आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न लिङ्गा फेर्ने परम्परालाई निरन्तरता दिनु पर्ने चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताउनुभयो । उहाँका अनुसार केही हप्तादेखि पर्यटकको मागलाई मध्यनजर गरी हरेक हप्ताको सोमबार आरती समेत लगाउने गरिएको छ । 

चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजा  राख्ने चलन छ । भने भैरवनाथ मन्दिरको लिङ्गा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन रहेको छ । वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि नै चन्दननाथ र भैरवनाथले रक्षा गरुन् आस्थाले ५२ हाते लिङ्गा सहित ध्वजा राख्ने प्रचलन रहेको संस्कृत सम्बन्धी जानकार व्यक्ति रमानन्द आर्चायले बताउनुभयो । 

घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहोस् भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने समेत प्रचलन छ । भने । उत्पादन बढाउन मन्दिरको माटो लिने पनि गर्छन् । 

आर्चायले भन्नुभयो,‘पर्यटकहरूको सहजताका लागि गुठिले मन्दिरको महत्व र ऐतिहासिकता झल्किने गरी अभिलेख राख्नु पर्ने । हेल्पडेस्क तयार गर्न पनि जरुरी छ । मन्दिरको संरक्षणमा स्थानीयको सक्रियता उस्तै छ । तर विगतको जस्तो बाहिरी जिल्लाबाट आउन छोडेका छन् ।’

एक दशक पहिलेसम्म लिङ्गा फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न बस्तु पठाउने चलन थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउँथ्यो । हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का आउँथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौँरी पठाइन्थ्यो । तर त्यो अहिले सबै रोकिएको छ ।

जुम्लामा पहिलो चन्दननाथ बाबाले १२ सय शताब्दीतिर मार्सीधानको खेतीको सुरुवात गरेको किवन्ती छ । चन्दननाथ भैरबनाथ मन्दिरलाई कर्णालीकै उत्कृष्ट धार्मिक पर्यटन गन्तव्य बनाउन तीनै तहका सरकारले ठोस नीति र बजेट छुटाउनु पर्ने युवा रामसिंह रावल बताउँछन् । ‘पुरातात्त्विक महत्व बोकेको मन्दिरकै आडमा ठुला ठुला भवन बनेका छन् । पर्यटकले चाहेको जस्तो अभिलेख पाउन सकेका छैनन् । गुठिले व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी छ’,उनले भने ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button