तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा १ सय ५७ बर्ष पुरानो ऐतिहासिक ‘रामलिला मञ्चन’ सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि ऐतिहासिक रामलीला मञ्चन सुरु भएको छ । 

बडा दसैँको अवसरमा सयौँ वर्षदेखि चल्दै आएको रामलिला मञ्चनले यस बर्ष पनि निरन्तरता पाएको हो । संस्कृतिको रुपमा स्थापित भएको रामलिला मञ्चन घटस्थापनामा सुरु भई टीकाको भोलिपल्टसम्म चल्दछ । रामलिला मञ्चन नेपालगञ्जमा १ सय ५७ वर्षदेखि निरन्तर चलिरहेको छ । यस बर्ष आज दिउँसो शोभा यात्रासहित यसको विधिवत् शुभारम्भ गरिएको छ ।

रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ । त्यही रामलिला मैदानमा भारतको वृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन हुन्छ । खाना खाएर रातिमा रामलिला हेर्न जाने यहाँको संस्कृति बनेको छ । रामलिला सञ्चालक समितिले रामलीलाका लागि भारतबाट राधा रमण नेतृत्वको २५ जना कलाकार टोली ल्याइएको जानकारी दिएको छ ।

रामलीलाले गर्दा रामलिला मैदान झिलिमिली पारिएको छ । यहाँ बजार नै लाग्ने गरेको छ । विगतमा भगवानको पाठसँगै मनोरञ्जनका लागि सुरुवात गरिएको रामलिला यहाँको संस्कृति बनेको हो । रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ । हरेक दिन साँझ ७ बजेदेखि राती १२ बजेसम्म रामलिला मञ्चन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button