तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना

जनकपुरधाम । चाडपर्वलाई लक्षित गरी धनुषाको विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधामको सबैभन्दा बढी यात्रीहरूको चाँप रहने रामानन्द चोकमा आजदेखि यात्रीहरूका लागि सहायता कक्ष स्थापना गरेको हो ।

सहायता कक्षको शुभारम्भ गर्नुहुँदै मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले दशैको समयमा सुरक्षा निकायहरूको नागरिकप्रतिको दायित्व अझै बढी हुने भएकाले अप्ठ्यारोमा परेका यात्रीहरूका लागि सहायताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष स्थापना गरिएको बताउनभयो ।

उहाँले आम नागरिकले चाडपर्व राम्रोसँग मनाउन यसका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुहुँदै सवारी दुर्घटना न्यूनीकरणमा तथा राजश्व सङ्कलनभन्दा सवारी दुर्घटना कसरी नियन्त्रण गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन सबैलाई निर्देशन दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले यात्रीहरूको सहजताका लागि स्थापना भएको नागरिक सहायता कक्षले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई सचेत बनाउने आशा व्यक्त गर्नुभयो ।

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्वमा यात्रुहरूलाई समस्या नहोस् त्यसका लागि पूर्व तयारी गरिएको जानकारी दिँदै चाडपर्वको दिन गन्तव्यसम्म यात्रुहरू पुग्न नसके त्यसका लागि थप चालक तथा सवारी साधनको व्यवस्थापन गरिने बताउनुभयो ।

धनुषाको जनकपुरधामको बसपार्क, रामानन्द चोक, पोर्ताहा, ढल्केबर र लालगढलगायत स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button