तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा शुरु भयो दसैँ मेला

वीरगंज । घटस्थापनाकै दिनदेखि वीरगन्जमा दशहरा (दसैँ) मेला सुरु भएको छ ।

वीरगन्जमा दसैँको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लागेको हो । नवमीका दिनसम्म लाग्ने मेलामा पसलेहरुले सडकमै पसल थाप्ने प्रचलन रहेको छ ।

बीरगंजको शक्ति पीठको रुपमा रहेको गहवामाई र विर्ता मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरूले दशहरा मेलामा किनमेल गर्छन् । फूलपातीका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने चलन छ । मेलामा पर्सा, बारा, रौतहट, सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने गरेका छन् ।

बडा दसैँको पहिलो दिन आज बीरगंजमा घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँ कहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

यसैबीच आज बीरगंज उद्योग वाणिज्य सङ्घले बडा दशैं, शुभ दीपावली तथा छठ पर्व २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बीरगंजका उद्योगी व्यवसायी, समाजसेवी, सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, राजनीतिककर्मी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button