तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मेलाको विधिवत् शुरुवात,हजारौँको सङ्ख्यामा निकालियो शोभायात्रा

बारा। बाराको महागढीमाई नगरपालिका वडा नं-१ बरियारपुर स्थित रहेको प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको छ। मन्दिर परिसरबाट बाजा गाजा झाकी हात्ती घोडा ऊँट सहित हजारौँको सङ्ख्यामा शोभायात्रा निकालिएको हो।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शोभायात्रा निकालिएको महासचिव विरेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। शोभायात्रा बरियारपुर इनर्वा चोक तेलकुवा नहर चोक बसतपुर मटिअर्वा हुँदै कलैया उपमहानगरपालिका भरत चोक गुप्ता पेट्रोल पम्प हुँदै गंजभवानीपुर दहियार भई पुनः शक्तिपिठ गढीमाई मन्दिर परिसरमा सम्पन्न हुने नगर प्रमुख यादवले जानकारी दिनु भयो।

शोभायात्रा पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले यही मंसिरमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजनलाई सबै प्रकारको सुविधाको लागि समिति प्रतिबद्ध रहेको बताउनु भयो । मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिका दिन विधिपूर्वक पुजाआजा गरि पञ्चवलिबाट बलि दिने शुरु हुने कुरा मन्दिरका पुजारी मङ्गलले  जानकारी गराउनु भयो। यसपालिको मेलामा करिब लाखौँको सङ्ख्यामा दर्शनार्थिहरु आउने लक्ष्य लिएको मेलाको प्रवक्ता विजय स्वर्णकारले बताउनु भयो, साथै यस मेलामा हजारौँ राँगा , बोका लगायत पशुपंक्षिको बलि चढाइने गरेको छ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्। मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठुला-ठुल्ला खेल तमासा मौतका कुँवा, सरकस , पिङ लगायतका प्रबन्ध गरिएको मेलाका मुल समितिका अध्यक्ष यादवले बताउनु भयो । मेला अवधिभर शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाइएको हुँदा ढुक्कसँग मेला भर्न आउन सबैमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनु भयो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button