तपाईँ सुन्दै हुनुहुन्छः

गाभर भ्याली होमस्टे थारू संस्कृतिको अध्ययन, अनुसन्धान केन्द्र बन्दै

बाँके  । नेपालगन्जबाट २४ किलोमिटर उत्तरमा छ गाभर भ्याली होमस्टे । चारैतर्फ पहाडले घेरिएको सुन्दर यस भ्याली पछिल्लो समय होमस्टेका कारण पनि चर्चित बनिरहेको छ ।

यहाँका होमस्टेमा विशेष गरी रैथाने परिकारका लागि चर्चित छन् । होमस्टेहरूले आगन्तुकहरूलाई परिवारकै सदस्यले झैँ खानपिन र वास बसाउने गरेका छन् । यहाँ पुग्ने जो–कोहीले आफ्नै घर पुगेको जस्तो अनुभूति गर्ने गरेका छन् । गाभर भ्यालीमा २० वटा जति होमस्टे छन् । यहाँका हरेक घरको फरक–फरक विशेषता छ । तर, हरेक होमस्टेमा थारू परिकार भने पाइन्छ । गाभर भ्यालीका सञ्चालक कृष्णलाल चौधरीले भन्नुभयो,‘हामीकहाँ विभिन्न थरीका परिकार पाइन्छ, तर विशेष गरी थारू परिकारलाई प्राथमिकता दिएका छौँ । थारू परिकार र सत्कार पाइने होमस्टेका रूपमा यसलाई विकास गरेका छौँ ।’

चौधरीले भन्नुभयो, होमस्टेमा थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको (हेल्का, डेल्या, हलो, जुवा, छट्री, जाल, जब्या, दुना, टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतो) पौराणिक सामग्री अवलोकन गर्न पाइन्छ । घर नम्बर १ होमस्टेले थारू समुदायमा प्रचलित देवीदेवताको मूर्ति र चित्र हेर्ने व्यवस्था गरेको छ । यस होमस्टेमा थारू संस्कृति र संस्कारसँग सम्बन्धित मूर्ति तथा लत्ताकपडा अवलोकन गर्न सकिन्छ । ‘थारू कला संस्कृतिको अध्ययन, अनुसन्धान गर्नेहरूका लागि उचित स्थान बनेको छ ।’

होमस्टेले वातावरण संरक्षणलाई समेत जोड दिएको छ । होमस्टे परिसरमा विभिन्न थरीका फलफूलका बोट र बिरुवाको अवलोकन गर्दै आनन्द लिन सकिन्छ । होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, बिजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, शीतलचिनी, सुनाखरी, अमलेसो, चमेली, कटहर, लिची, पिपल, विभिन्न जातका कागती, जामुन, निम, बकाइनो, गुलमोहरलगायत फलफूलका बिरुवा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button