तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३२ पुग्यो, २३ जना बेपत्ता

काठमाडौँ । गृह मन्त्रालयले बाढी पहिरोबाट आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ३२ पुगेको जनाएको छ ।

गृह मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी पहिरोका कारण आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ३२ पुगेको, १ सय ६५ जना घाइते भएको र २३ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिनुभयो ।

गृह प्रवक्ता तिवारीले खोज र उद्धारको कामलाई निरन्तरता दिइएको र अहिले अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यस्तै मन्त्रालयका सह सचिवहरुको नेतृत्वमा बाढी पहिरोबाट बढी प्रभावित विभिन्न ८ जिल्लामा स्थलगत अनुगमन टोली आजैदेखि परिचालन गरिएको बताउनुभयो ।

सहसचिव नेतृत्वको स्थलगत अनुगमन टोली बाढी पहिरोबाट अतिप्रभावित ८ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा परिचालन भएको प्रवक्ता तिवारीले बताउनुभयो ।

स्थलगत अनुगमन टोलीमा सरोकारवाल अन्य निकायका प्रतिनिधिहरू समेत सहभागी रहेको गृहमन्त्रालयले जनाएको छ ।

सो अनुगमन टोलीले विपद्बाट प्रभावित घरपरिवारलाई राहत उद्धारका विषयमा प्रदेश,स्थानीय तह र सम्वद्ध पक्षहरूसँग समेत आवश्यक समन्वय र सहजिकरण गरी विपद्पछिको सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी काम गर्नेछ ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट आज थप २९ जना बाढी पहिरो पीडितको उद्धार गरिएको र ललितपुरमा प्रभावित क्षेत्रमा खाद्यान्न तथा आवश्यक सामग्रीहरु पठाइएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा गृह प्रवक्ता ऋषिराम तिवारीले गृहमन्त्रीले बाढी पहिरो प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरी सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको र प्रभावित ठाउँहरूमा राहत तथा उद्धारका कामहरू भइरहेको बताउनुभयो ।

प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका सेवाहरू क्रंमश सुचारु हुँदै गएको र बाँकी कामहरू पनि तीव्र गतिमा गर्न निर्देशन दिइएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button