तपाईँ सुन्दै हुनुहुन्छः

दुहबी नगरपालिका स्वास्थ्य सुधार क्षेत्रमा सुनसरीकै सर्वोत्कृष्ट घोषित

सुनसरी । आर्थिक बर्ष २०८०/८१ को वार्षिक सुचाङ्क सर्वेक्षण बाट सुनसरी जिल्लाको १२ वटै पालीका मध्ये दुहबी नगरपालिका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।   

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुनसरीका १२ वटा पालिका मध्ये दुहबी नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।  

विभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहबीले ७१ प्रतिशत अङ्क हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको छ । 

सुनसरीका १२ वटै स्थानीय तहबिच गरिएको मूल्याङ्कनमा बर्जु गाउँपालिका ६९ दशमलव ०३ प्रतिशत अङ्क हासिल गर्दै तेस्रो बनेको छ । पालिकाको वार्षिक रिपोर्ट, बजेट कार्यान्वयनको अवस्था लगायत विभिन्न ४० वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा दुहबी, इटहरी र बर्जु गाउँपालिका पुरस्कृत बनेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो । 

उनीहरूलाई जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता र स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले सम्मान तथा पुरस्कृत गरे ।

आर्थिक बर्ष २०८०÷८१ को स्वास्थ्य कार्यक्रम मूल्याङ्कन गर्दा हाल सम्मकै उदाहरणीय र  जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै दुहबी नगरपालिकालाई प्रमाणपत्र दिएको छ ।    

दुहबी नगर क्षेत्रका स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्याङ्कन गरी स्वास्थ्य कार्यालय सुनसरीले दुहबी नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताउनुभयो । 

उनले सुनसरी जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरूको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन गरिएको बताए ।

दुहबी नगरपालिकाले गरेको वार्षिक कार्यक्रम अन्तर्गत नगर प्रमुख स्वास्थ्य बीमा कार्यक्रम, महिलाको पाठेघर क्यान्सरको(प्याप) परिक्षण ,प्रोटेवल भिडियो एक्सरे मेशिन द्वारा गर्भवती जाँच, बर्थिङ सेन्टर, विवाहित महिलाको लागि शुभकामना कार्ड, सुनौला हजार दिन,विपन्न स्वास्थ्य सेवा बिमा,अपाङ्गता रोकथाम,उपचार तथा पुनर्स्थापना लगायत स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम समुदाय स्तरमा सञ्चालन गरिरहेको छ ।   

पोषण वितरण तथा कुपोषण नियन्त्रण ,खोप, सुरक्षित मातृत्व लगायत दिगो विकास लक्ष्यमा आधारित सूचक र कार्यक्रमहरू मार्फत ७१ प्रतिशत नतिजा निकाल्दै जिल्लाकै प्रथम हुँदै प्रशंसा पत्र प्राप्त गर्न सफल भएको दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले जानकारी दिनुभयो ।  

नगर प्रमुख गच्छदारले जनताको नजिकको स्वास्थ्य केन्द्रहरूलाई सबल बनाएर नागरिकको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य चौकीहरूले भूमिका निर्वाह गरिरहेको बताउँदै दुहबी नगरपालिका स्वास्थ्य शाखाको अभ्यास सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले  कुनैपनि काम  सफल गराउन  मुख्य नेतृत्वको  भूमिकामा  निर्भर हुने हुँदा नगरप्रमुखको लिडरसिप स्मरणीय र उदाहरणीय रहेको प्रशंसा गर्दै स्वास्थ्य कर्मचारीहरूको  योगदानको सदैव उच्च सम्मान रहने बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button