तपाईँ सुन्दै हुनुहुन्छः

गाजा युद्धमा दुई–तिहाइ भवन क्षतिग्रस्त : राष्ट्रसङ्घ

जेनेभा । सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ । 

राष्ट्रसङ्घीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आफ्नो क्षति मूल्याङ्कनलाई अद्यावधिक गर्दै सेप्टेम्बर ३ र ६ मा सङ्कलन गरिएका रिजोल्युसनका तस्बिरहरूले स्पष्ट रूपमा बिग्रँदो अवस्था देखाएको बताएको छ । 

“यो विश्लेषणले गाजा पट्टीमा कूल संरचनाको दुई–तिहाइ भवन क्षतिग्रस्त भएको देखाउँछ”, युनोस्याटले भनेको छ, “गाजा पट्टीमा क्षतिग्रस्त भवनहरूको उक्त ६६ प्रतिशतले कूल एक लाख ६३ हजार सात सय ७८ संरचनालाई समेटेको छ ।”

जुलाईको प्रारम्भका तस्बिरहरूको आधारमा अन्तिम मूल्याङ्कनले प्यालेस्टिनी क्षेत्रका ६३ प्रतिशत संरचना क्षतिग्रस्त भएको निर्धारण गरेको थियो ।

सोमबारको अद्यावधिकले क्षतिमा अहिले ‘५२ हजार पाँच सय ६४ संरचना नष्ट भएको, १८ हजार नौ सय १३ गम्भीर रूपमा क्षतिग्रस्त भएको, ३५ हजार पाँच सय ९१ सम्भवतः क्षतिग्रस्त संरचना रहेको र ५६ हजार सात सय १० मध्यम रूपमा प्रभावित’ भएको बताएको छ । 

गाजा सहर विशेष रूपमा प्रभावित भएको युनोस्याटले बताएको छ । गाजा सहरमा ३६ हजार छ सय ११ संरचना नष्ट भएका छन् । 

युनोस्याट र राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले गाजा पट्टीका करिब ६८ प्रतिशत स्थायी बाली क्षेत्रमा सेप्टेम्बरमा ‘स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट’ देखिएको बताएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button