तपाईँ सुन्दै हुनुहुन्छः

सहज सेवा दिन एयरलाइन्स कम्पनीहरूलाई मुख्यमन्त्री पाण्डेको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्व र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका दिनुभएको छ ।

पोखराबाट काठमाडौँको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको जनगुनासो आएपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरण पोखराका प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गर्नुभयो । मौका छोप्ने बेला नभएको बताउँदै मुख्यमन्त्री पाण्डेले देशमा विपद परेका बेला सबैले आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्‍याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ ।

अहिले पोखरा–काठमाडौँ भाडा पाँच हजार नौ सयसम्म छ । यस अघि चार हजार चार सय रहेको थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिनुभयो । चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउन उहाँले आग्रह गर्नुभयो ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाडौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एयरलाइन्सहरूलाई सचेत गराउनु पर्ने उहाँको भनाई थियो ।

एयरलाइन्स कम्पनीहरूले ‘सिस्टम कन्ट्रोल’ पोखराबाट नहुने भन्दै केन्द्रिय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एयरलाइन्स, तारा लगायतका एयरलाइन्स कम्पनीहरूले सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button