तपाईँ सुन्दै हुनुहुन्छः

सन्तानेश्वरमा पर्यटकको लर्को, नरैनापुरले पर्यटकीय हब बनाउने (फोटो फिचर)

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा अवस्थित मनोरम दृश्य रहेको सन्तानेश्वर महादेव मन्दिरमा पर्यटकको चहलपहल बढ्दै गएको छ ।  महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्नका लागि वार्षिक करिब १५  देखि २० हजार मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । यो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ ।

लगभग डेढ घण्टाको हिँडाई पछि सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नुपर्छ । सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुरको प्रवेशद्वार वडा न-६ कोहलाबाट उत्तर पूर्व करिब दुई घण्टाको पैदल यात्रापछि रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा पर्यटकहरू निकै उत्साहित हुने गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनु भयो ।

सन्तान नभएकाहरूले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास छ । सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ लगायत नेपालका विभिन्न स्थानबाट पर्यटकहरू दर्शनका लागि आउने गरेका छन् । साथै भारतका विभिन्न स्थानबाट पनि आउने व्यक्तिको लहर उत्तिकै हुन्छ । पर्यटकहरू पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किँदा उनीहरू त्योभन्दा बढी हर्ष र खुसी हुने गरेका छन् ।

चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ । जङ्गलै जङ्गलको गोरेटो बाटो भएर जानुपर्ने भएकोले जङ्गली जनावरले आक्रमण गर्न सक्ने सम्भावना रहन्छ । मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन यहाँ आउने गरेको नरैनापुर ६ का अध्यक्ष प्रेम ले बताउनुभयो ।

एकान्त र शान्त ठाउँ भएकोले दर्शनसँगै घुम्न आनन्द आउने गरेको अध्यक्ष मौर्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहाड चढ्न गाह्रो भए पनि मनोरम दृश्य र चुचुरोमा अवस्थित मन्दिरको दर्शन गर्दा सबै दुःख भुलिन्छ । यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दिन्छ ।’ मन्दिरका महन्त ९१ वर्षीय योगानन्द गिरी (पहाडी बाबा)ले विक्रम संवत् १९३५ मा झन्डा गाडिए सँगै मन्दिरको स्थापना भएको थियो ।

‘यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ,’ पुजारी पहाडी बाबाले भन्नुभयो, यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीन वटा मूल फुटेका छन् । ‘सात वर्षको उमेरदेखि म यहीँ बस्दै आएको छु । त्यति वेला मन्दिर खासै चर्चामा थिएन,’ जङ्गलको बीचमा कुटी बनाएर बसेका बाँके दासले भने, ‘विगत तीन–चार वर्षदेखि मन्दिर दर्शन गर्न आउनेको भिडभाड बढेको छ ।’ उहाँले जङ्गलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले मन्दिरसम्म पुग्न सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढेको बताउनु भयो । ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही योजना बनाएका छौँ । जतिसक्दो आन्तरिक पर्यटक आकर्षण गराउने उद्देश्य छ,’ उहाँले भन्नुभयो। सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो । अहिले सडक बनेपछि मानिस घुम्न आउन थालेको जिकिर गर्नु भयो । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको बताउनु भयो ।

मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भिड अझै बढ्ने नरैनापुर गाउँपालिका वडा न-६ का वडा अध्यक्ष मौर्यको भनाई छ । पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग र वासस्थानका लागि कोहलामा होमस्टे निर्माण गर्न सके थप लाभ लिन सकिने अध्यक्ष मौर्यको भनाई छ । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राका लागि भक्तजनहरू सन्तानेश्वर पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button