तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दुई महिनामा १९ दुर्घटना, १२ जनाको मृत्यु

बाँके । चालु आर्थिक वर्षको दुई महिनामा बाँकेमा भएका १९ वटा सवारी दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाउनुका साथै १९ जना गम्भीर र ३६ जना सामान्य गरी ५५ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा १८ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाउँदा ५५ जना घाइते भएको भएको जानकारी दिनु भयो ।

चालु आर्थिक वर्षको दुई महिनामा मात्र बाँकेमा सवारी नियम उल्लङ्घन गर्ने ५ हजार एकसय १८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी बाँकेले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिने  कारबाहीबाट ४० लाख २९ हजार रुपियाँ जरिबानावापत् राजस्व समेत सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक पन्तले बताउनु भयो ।

उहाँले भन्नुभयो,–‘ सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई जरिवाना गर्नुका साथसाथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक नियम कानुन सम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएका छौ ।’ उहाँले सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायहरू लगायतका विषयमा सचेतना प्रदान गर्दै आएको जिकिर गर्नु भयो ।

ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने नभएर सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्दै आएको प्रहरी निरीक्षक पन्तले उल्लेख गर्दै भन्नुभयो, नागरिक सचेत भएपछि स्वभाविक रुपमा सवारी दुर्घटनामा कमी आउने उद्देश्यले विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यक्रम अगाडि बढाएका छौ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्याङ्कअनुसार बाँकेमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५८ वटा सवारी दुर्घटना भएका थिए । सो दुर्घटनामा परी ४८ पुरुष, १६ महिला र २ बालक गरी ६६ जना सर्वसाधारणको ज्यान गएको थियो । २ सय १२ जना घाइते भएका थिए, भने चालु आर्थिक वर्षको दुई महिनामै १२ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button