तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब चितवन गोल्डकपको सेमिफाइनलमा

चितवन । आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब काठमाडौँ गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतिस्पर्धात्मक अन्तिम क्वाटर फाइनलमा पुलिसले बिएफसीलाई टाई ब्रेकरमा ५–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस अघि निर्धारित समयको खेल २–२ को बराबरी सकिएको थियो ।

पुलिसका लागि दुवै गोल सुजन मगरले गरे । आयोजकका सञ्जीव विष्ट र सृजन गौतमले गोल गरे । खेलको १८ औँ मिनेटमा सुजनको गोलमा पुलिसले अग्रता लिएको थियो । ६० औँ मिनेटमा सञ्जीवले बिएफसीका लागि बराबरी गोल फर्काए ।

लगत्तै ६२ औँ मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा सृजनले गोल गरेपछि निर्धारित समय २–२ को बराबरीमा सकियो । दुई गोल गरेका पुलिसका सुजन म्यान अफ दि म्याच भए ।

योसँगै सेमिफाइनलमा पुलिस र एपिएफबीच विभागीय डर्बी हुने पक्का भएको छ । प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा सल्हेस एफसी सिराहा र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।

असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् ।

बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button