तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पूर्वमा गाउँमाथिबाट लेदोसहितको पहिरो जाँदा सात घरपरिवार विस्थापित

रुकुमपूर्व । गाउँमाथिबाट पहिरो जाँदा रुकुम पूर्वको एक बस्ती जोखिममा परेको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित भिरकुना भन्ने ठाउँमा लेदो सहितको पहिरो जाँदा थापागाउँ पहिरोको उच्च जोखिममा परेको हो ।

थापा गाउँ जोखिममा परेपछि सात घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार कोही छिमेकीको घरमा र कोही आफ्नै दोस्रो घर तथा अन्य ठाउँमा सारिएको सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष विरेन्द्र बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार यो ठाउँमा पहिले पनि पहिरो गएको थियो । ढुङ्गा बिनाको माटो भएकाले वर्षा हुँदा माटो उम्लिएर बग्ने गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

थापागाउँ माथिको भिरकुनाबाट निरन्तर पहिरो झरिरहेकाले गाउँ जोखिममा परेको छ । पानी परिरहेकाले जति बेला पनि पहिरो आउन सक्ने त्रास बस्तीमा छ ।

पहिरोले बस्ती नै जोखिममा परेपछि सुरक्षाकर्मी र गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण समेत गरेको छ । पहिरोलाई रोकथाम गर्न सक्ने अवस्था तत्काल सम्भावना नरहेको सिस्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button